मकवानपुरको बकैयामा कांग्रेस-माओवादी कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

मकवानपुरको बकैया गाउँपालिका-७ कत्लेखोलामा चुनावी माहोलको विषयमा गठबन्धन दलका कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

चुनावी माहोलको विषयमा लफडा हुँदा नेपाली कांग्रेस निकट रामबहादुर राईले २०-२५ जना कार्यकर्ताहरुलाई परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया-७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिएकी छिन् ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले बताएकी छिन् । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्ति सुडेका सई दमन तामाङले दुवै पक्षको निवेदन आएको र घाइतेको उपचार पश्चात घटनाको विषयमा थप छानबिन हुने जानकारी दिएका छन् ।