चुनावको मुखमा पार्टि बदल्नेहरु चरम अवसरवादी हुन् – डा. बाबुराम भट्टराई

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् ।

बुधबार साँझ आफ्नो टुईटर मार्फत भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति भएको भन्दै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भएको बताएका हुन्।

चुनावको मुखमा सत्ता स्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।

‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति हो न । त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो। तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो! यसलाई सबैले रोकौं,’ उनले भनेका छन् ।

आजै मात्र नेकपा एमालेकी पूर्व सांसद रञ्जु ठाकुर जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेकी छन्।

बुधबार सप्तरीको राजविराजमा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनलाई अध्यक्ष उपेन्द्र यादव र नेतृ रेणु यादवले स्वागत गरेका हुन् ।