अब नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब नारायणी नदीको बाढीले सर्वसाधारणलाई धेरै दुःख नदिने बताएकी छिन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताइन् ।

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रास बनेर बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान भएको मेयर दाहालले बताएकी छिन् । ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’, दाहाले भनिन्, ‘विगतमा वर्षातहरुमा कामहरु टालटुल पार्ने काम भएको थियो । ५० लाखभन्दा बढीको काम भएको थिएन् । तर अहिले भने पौने ५ अर्ब रुपैयाँ बजेट विनियोजन भई ४ वटा प्याकेजको ठेक्का भैइरहेको छ । अबदेखि शिवघाट देखि नारायणगढ बजारसम्मको टेन्डर रहेको छ। बाढी रोकिएपछि तीब्र गतिमा काम अगाडि बढ्छ ।’

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्धन निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका वस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने बताएकी छिन् ।

नारायणीको समस्याबारे विगतमा स्थानीय बासिन्दाले महानगरपालिकालाई ध्यानाकर्षण गरेकै कारण संघीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उनको भनाइ रहेको छ ।

विगत ५ वर्ष देखी नै जनताको चाहना अनुसार विकासका कार्यहरुलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेश गर्ने गरी काम गर्ने जनाएकी छिन् ।