राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेका सांसदद्वारा बहिष्कार

आज राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले बहिष्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाएका छन् । यस विषयमा एमालेले संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्‍याएर मुलुकलाई हानि पुर्‍याएकाले त्यसको निष्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताएका छन् ।

बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरूको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निणर्य गरेकाले आफूहरूले बहिष्कार गरेको उनले जानकारी दिएका छन ।

एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिर आएका थिए ।

एमालेको बहिष्कारका बीच राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाएका छन् । बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।