अभिनेता विपिन कार्कीले सर्तसहित गरे पारिश्रमिकमा वृद्धि गर्ने निणर्य

काठमाडौं ।
अभिनेता विपिन कार्कीले पारिश्रमिकमा वृद्धि गर्ने निणर्य गरे । उनले केही सर्तसहित यस्तो निधो गरेको बताएका छन् ।

फिल्मको समूह, उद्देश्य, लगानीको आकार र निर्माताको फिल्मसम्बन्धी चेतनाको स्तरलाई उनले सर्त मानेका छन् । सबै सर्त पूरा भए उनले न्यून पारिश्रमिकमा काम गर्ने, तर पैसा कमाउने उद्देश्य छ र लगानीको आकार उच्च छ भने सोहीअनुसार पारिश्रमिक लिने कार्कीले निधो गरेका छन् ।

केही फिल्मको लागि आफूले सोही सापेक्षताअनुसार ५० लाख रुपैयाँ पारिश्रमिक मागेको सकेत जनाएका छन् ।

उनले भने, ‘स्क्रिप्ट हेरेर मात्र पारिश्रमिकबारे निधो गर्छु । भूमिका चित्त पनि बुझ्नुपर्‍यो । मलाई कसैले एक करोड दिन्छु भनेको भरमा म फिल्म गर्दिन । टिम, समय र उहाँहरुको चेतनाको स्तर हेरेर निणर्य गर्छु ।’

आर्थिक लाभ लिने वा नलिने एउटा सर्तलाई उनले महत्वपूणर् आधार तुल्याएका छन् । सोहीअनुसार उनले हालै फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेस’मा निःशुल्क अभिनय गरे । यो फिल्मलाई फेस्टिभल लक्षित मानिएको छ ।

कार्कीले आफू वैशाखसम्मै व्यस्त भएको बताए । आफूलाई फिल्मको प्रशस्तै अफर आएको समेत उनले बताएका छन् ।

पछिल्लो फिल्म ‘प्रसाद २’को पत्रकार सम्मेलनमा विपिनले आफू वैशाखसम्मै व्यस्त हुने भएकाले फिल्मको अफर नगर्न आग्रह समेत गरेका थिए । कार्की वैशाखसम्म चारवटा फिल्ममा व्यस्त रहने भएका छन् ।

वैशाखपछि पनि उनका दुई फिल्म सेड्युलमा रहेका छन् । ‘प्रसाद २’पछि उनी बलिउड फिल्म एनिमलमा व्यस्त हुने भएका छन् । ‘एनिमल’को लुक्स परीक्षणको लागि उनी चार दिनको लागि यसै साता मुम्बई जानेभएका छन् । त्यसपछि रामबाबु गुरुङको अनटाइटल र अर्को फिल्म लूमा उनी व्यस्त रहने छन् ।

सो पछि सफल केसी र प्रतीक गुरुङको फिल्ममा उनी व्यस्त रहने छन् । यसपछि उनी जी-ट्वान्टी वान प्रोडक्सनको नयाँ फिल्म ‘डामाडोल’मा काम सुरु गर्ने भएका छन् । तर ‘पशुपतिप्रसाद २’ बारे कुनै निणर्य नभएकाले यसबारे आएका समाचारप्रति उनले दुःख व्यक्त गरेका छन् ।