बुवाको क्रिया गर्न माइत आएकी महिला मृत अवस्थामा फेला

धनुषामा बुवाको क्रिया गर्न माइत आएकी महिला मृत अवस्थामा फेला परेकी छन । धनुषाको सहिदनगर नगरपालिका-४ ननुपट्टीस्थित गहुँ खेतमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन ।

आज ( आइतबार ) बिहानै जनकपुर-यद्दुकोहा सडकको छेउमा रहेको गहुँ खेतमा धनुषाकै हँसपुर नगरपालिका-७ नौवाखोरकी अन्दाजी ५५ वर्षीया शुभ मण्डलको शव फेला परेको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । स्थानीयले उनको शव खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले ईलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली घटना स्थल पुगेको छ ।

मृतक महिलाको परिवारले शनिवार साझदेखि छोरी सम्पर्कमा नरहेको भन्दै खोजीका लागि आज बिहान मात्रै प्रहरीमा उजुरी दिएका थिए ।

मृतक महिलाको टाउकोमा दुई ठाउँमा काटिएको छ । उनले लगाएको गरगहना समेत लगिएको छ । बुबाको मृत्यु भएपछि उनी क्रिया गर्न माइत आएकी थिइन ।
उक्त घटना बारे गम्भिर अनुसन्धान भैरहेको धनुषा प्रहरीले जनाएकाे छ ।