जाजरकोटमा पोल गाडेको पाँच वर्षसम्म पनि बलेन बिजुली

फागुन १५, जाजरकोट । जाजरकोटमा पोल गाडेको पाँच वर्ष सम्म पनि बिजुली बलेको छैन ।

३३ केभी प्रसारण लाइन कुशेमा पुर्‍याउनका लागि नेपाल विद्युत प्राधिकरणले पाँच वर्षअघि बोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे-५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् ।

शाइ बाबा एण्ड तारा कन्टक्सन खलङ्गा-२ ले पालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रसारण लाइन निर्माण गर्न आव २०७५/७६ मा ठेक्का लिएकामा हालसम्म काम सम्पन्न भएको छैन । अहिले गाडिएको पोल जीणर् अवस्थामा छन् भने तार छरिएर अलपत्र छन् ।

दुई ठाउँबाट विद्युत लिनका लागि काम सुरु भएको पाँच वर्ष बितिसक्दा आधा काम पनि नहुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । छेडागाड नगरपालिकाको थलहबाट कुशे गाउँपालिका र भेरी नगरपालिका हुँदै कुशेको पाँचकाटिया जोडेर पालिकाभर विद्युतीकरण गर्ने उद्देश्यसहित प्राधिकरणले ठेक्का उपलब्ध गराएकामा हालसम्म २० प्रतिशत काम भएको बताइएको छ ।

पालिका, प्राधिकरण र निर्माणको जिम्मा लिएको कम्पनीले छिटो काम चालु गरी विद्युत आपूर्ति गर्नुपर्ने स्थानीयवासीको माग थियो ।