प्रधानमन्त्री प्रचण्डले निधनपछि आफ्नो शरीरका सम्पुणर् अङ्ग दान गर्ने


माघ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निधनपछि आफ्नो शरीरका सम्पुणर् अङ्ग दान गर्ने घोषणा गरेका छन् ।
शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।
‘मेरो मृत्युपश्चात् सम्पूणर् शरीर दान गर्ने घोषणा गर्दछु,’ उनले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने उद्देश्यले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’ राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको छ । अहिले दैनिक केन्द्रमा चारदेखि आठजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । यस्तै, दैनिक डेढ सयभन्दा बढी डायलाइसिस हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ भन्ने बताए । ‘’मिर्गौला प्रत्यारोपणका लागि वार्षिकरूपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न खेलेको भूमिकाका लागि केन्द्रलाई धन्यवाद दिन्छु ।
प्रधानमन्त्रीले भने, “यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन । यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ । साथै ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईहरूको मागप्रति गम्भीर छु ।”