तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार बन्ने

दमौली ।

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माणका लागी । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।

छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित केबुलकार निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘केबुलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ,’ उनले भने । छिम्केश्वरी माई मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन् थपिने शर्माले विश्वास व्यक्त गरे ।

छिम्केश्वरी केबुलकार परियोजनाको लागत एक अर्ब १० करोड रहने अनुमान गरिएको छ । परियोजनाले छिम्केश्वरीमा रिसोर्टसमेत निर्माण गर्ने लक्ष्य राखेको छ । तीन हजार ६०० मिटर लामो रहने केबुलकारले दैनिक १० हजार यात्री बोक्ने क्षमता राख्ने अध्यक्ष शर्माले बताए।