नेताहरू भन्छन्, ‘प्रचण्डको भरै छैन’

काठमाडौं । सत्ता गठबन्धनभित्रै लफडा थियो । एमसीसी संसद्बाट पारित गर्ने कि नगर्ने ? प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा लैजाने निणर्य गरेपछि माओवादी केन्द्रले निणर्य गर्‍यो, ‘बरु सत्ता छोडने, एमसीसी पारित नगर्ने ।’ माओवादीको यो निणर्यपछि देउवाले एमालेसँग सम्बन्ध बढाए । धेरैको अनुमान थियो- अब एमाले र कांग्रेस मिल्छन् ।’ तर त्यस्तो भएन ।

‘प्रचण्डजीको बोलीको ठेगान नै छैन,’ कांग्रेसका एक नेताले भने, ‘प्रचण्डजी अहिलेसम्म त ५ दलीय गठबन्धनकै पक्षमा हुनुहुन्छ । तर, आफ्नो सुविधाअनुसार कुनै पनि बेला उहाँ युटर्न हुन सक्नुहुन्छ ।’

बाहिर ५ दलीय गठबन्धन भने पनि भित्रभित्र माओवादीले आफूलाई मुख्य ‘स्टक होल्डर’ बनाएर कांग्रेसबाट दह्रै भाग लिएको गठबन्धनका अरू दलका नेताहरूको तीव्र असन्तुष्टि थियो। स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई गठबन्धनभित्र पनि ‘रहलपहल’ ठाउँमा मात्रै भाग दिइयो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘लोक’लाई देखाउन पार्टीमा एउटा निणर्य गरे, भित्रभित्रै कांग्रेससँगै मिल्ने वातावरण बनाए । यसैकारण, पार्टीको निणर्यविपरीत एमसीसीकै पक्षमा माओवादीले भोट हाल्यो । न सत्ता छोड्यो, न त गठबन्धनबाट अलग भयो। बरु, स्थानीय तह निर्वाचनबाट त्यसको फाइदा उठायो ।

स्थानीय तह निर्वाचनबाट माओवादीले राम्रो सफलता पाएपछि प्रचण्डको बोली नै फेरिएको कांग्रेसका ती नेताले बताए । त्यसैकारण, प्रचण्डले कांग्रेसलाई ठेगान लगाउने ‘चेतावनी’ दिएको कांग्रेसका ती नेताले भने।

‘हिजो एमालेलाई ठेगान लगाइयो, अब कांग्रेसलाई ठेगान लगाउनु नपरोस्’ प्रचण्डको खुलेआम धम्की थियो । त्यसयता प्रचण्ड कहिले वामगठबन्धन त कहिले वाम-लोकतान्त्रिक गठबन्धन भन्दै ‘दुवैतिर च्याँखे दाउ’ थाप्दैछन्। कोसँग मिल्दा ठूलो भाग र सुरक्षित भइन्छ, प्रचण्ड त्यसको ‘जोखाना’ हेरिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा भएको गठबन्धनप्रति ५ दलकै नेताहरू सन्तुष्ट छैनन् । मुख्य गरी कांग्रेस र माओवादीबीच मात्रै गठबन्धन भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो दललाई ‘सम्मानजनक स्थान’ नदिइएको गुनासो पोखेका थिए । तर, त्यसकै आधारमा मात्रै आगामी गठबन्धन बन्ने/नबन्ने भन्ने निर्क्यौल नहुने नेताहरू बताउँदै आएका छ्न् ।