बाँकेमा कोरोनाको दोश्रो डोज र बुष्टर डोज खोप लगाईदैँ

काठमाडौँ,२० असार । बाँकेको स्वाथ्य कार्यालय आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । मख्यगरी नेपालगञ्ज उपनगरपालिका,कोहलपुर नगरपालिका, खजुरा गाँउपालिका मा १८ वर्षका नागरिकलाई
लक्षित दुई दिन सम्म खोप लगाउन लागीएको छ ।

असार २४ बाट २६ गतेसम्म डुडुवा, बैजनाथा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी भएको छ । बाँकेमा अहिलेसम्म शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म चार लाख ८१ हजार ८३३ ले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यो लक्ष्यभन्दा एक दशमलव २ प्रतिशतले बढी हो । बाहिरी जिल्लाबाट आएका व्यक्तिले खोप लगाएका कारण लक्ष्यभन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दोस्रो डोज खोप लगाउनेको सङ्ख्या तीन लाख ८५ हजार ८९२ रहेको छ । खोपको मात्रा पूरा गर्ने अर्थात दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेका छन् । बुष्टर डोज लगाउनेको सङ्ख्या भने जिल्लामा निकै कम छ । बुष्टर डोज लगाउनेको सङ्ख्या एक लाख सात हजार ३०६ रहेको छ । प्रतिशतका हिसाबले यो २२ दशमलव ५ प्रतिशत हो ।
सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका रहेका छन् । ती पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् । बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन् । केही दिनयता फेरी बाँकेमा कोरोना सङ्क्रमिता बढ्दै जान थालेका छन् ।