प्रचण्ड, नेपाल र यादव शुक्रबार ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैँ

काठमाडौं-
सत्ता गठबन्धनको बैठकअघि गठबन्धनका तीन दलका नेताहरुले छुट्टै छलफल भएको छ । गठबन्धनको बैठकअघि उनीहरुले आफ्ना तर्फबाट साझा अजेन्डा तय गरेका बुझिएको छ ।

शुक्रबार बिहान ललितपुरको हात्तीवनमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव बेदुराम भुसाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।

बैठकमा सहभागी एक नेताले भने आफूहरु एमाले बाहेकको ’वाम मोर्चा’ निर्माणका लागि छलफलमा जुटेको बताएका छन् ।

उनले भने, ’आगामी निर्वाचनमा एमाले बाहेकका वामपन्थी दलसँग सके एकता, नभए कार्यगत एकता गरेर जाने विषयमा छलफल गरीएको छ । उपेन्द्रजी पनि आफूलाई वामपन्थी नेता नै ठान्ने भएकाले बसेका हौं।’

शुक्रबार ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकअघि नेताहरुले समान धारणा बनाउन छलफल गरेको ती नेताले जानकारी दिएका छन् ।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पेल्दै गइरहेको महसुस यी सहयात्री दलका नेताहरुले गरेका छन् । उनीहरुले सार्वजनिक रुपमा पनि सत्ता गठबन्धनले आफूहरुमाथि गरेको व्यवहारको टिप्पणी गरेका छन् ।