महाराजगन्ज क्याम्पसमा विद्यार्थीको दुई टोलीबीच, दुई जना घाइते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत महारागगन्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीको दुई टोलीबीच झडप भएको छ । शुक्रबार राति झडप भएपछि सागर खड्का र वीरेन्द्रजंग कुँवर घाइते भएका छन् । दुबै एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

आफूहरूमाथि छात्रबासमै बस्ने अर्को सिनियर टोलीले कुटपिट गरेको उनिहरुले आरोप लगाएका छ्न् ।

घाइते कुँवरको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । खड्काको टाउकोमा सामान्य चोट लागेको छ । कुँवरको पाखुरामा धारिलो वस्तुले प्रहार गरेको गहिरो चोट छ ।

आफूमाथि आक्रमण भएपछि कुँवरले काठमाडौं प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन् । उनले एमबीबीएस अध्ययनरत सुलभ आचार्य, रमेश बलायर, सूर्यप्रकाश जोशी, शिव सिंह, विकास देव, सुरज भट्ट, सम्राट भट्ट र सुमित बोहराविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।

राति मादक पदार्थ सेवन गरेर छात्रबासमा आएका व्यक्तिहरुले सिसालगायत धारिलो वस्तुले प्रहार गरेको खड्काको उजुरीमा बताईएको छ । घाइते खड्काले घटनाबारे क्याम्पस प्रशासनलाई जानकारी गराउँदा प्रहरीमा जान भनेको तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको गुनासो गरे ।

महाराजगन्ज वृत्तका डिएसपी प्रमेश विष्टले भने पीडितको उजुरीको आधारमा घटना अनुसन्धान भइरहेको जानकारी दिए । आक्रमणबाट चोट लागेका व्यक्तिको घाउ जाँच गर्न पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । ‘घटनाको अनुसन्धानपछि कुन कसुरमा मुद्दा चलाउने स्पष्ट हुन्छ, अहिले घाइते भएका व्यक्तिको घाउ जाँच गरिएको छ,’ उनले भने ।

अनेरास्ववियुका कारण घटना भएको हो : नेविसंघ

नेविसंघले आफ्ना विद्यार्थीहरुलाई छात्रावासमा प्रवेश नदिएर अनेरास्ववियू र आफ्ना पक्षबीच झडप भएको प्रतिक्रिया जनाएको छ ।

यस्तै अनेरास्ववियुका विद्यार्थीहरुले स्वयं सिसामा इँटा प्रहार गर्दा लागेको चोटलाई केही विद्यार्थीहरुले कुटपिट गरेको भनी भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने प्रयास गरेको समेत विज्ञप्तिमा दाबी गरिएको छ ।