कोभिडको ९० डोज खोप लगाए एक जर्मनी वृद्धले

file photo

जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज खोप लगाएको जनाएका छन् । खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताए । नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए् । खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलाप ‘एक्सपोज’ भएको थियो ।
खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले पटकपटक खोपहरू लगाएका हुन् । ६१ वर्षीय ती वृद्धाले दिनमा तीनपटक सम्म खोप लगाएको भेटिएको थियो । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाका थिए ।
फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट भएको छैन् । खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजातहरु लिएर जाने गरेका थिए । खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाई खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई ति काडहरु बेच्ने गरेका थिए ।

खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य वीमा कार्ड प्रस्तुत गरेनन्, जसका कारण उनीमाथी शंका गरीएको थियो ।