गर्मीमा छालाका समस्या र हेरचाह गर्ने उपाय हेर्नूहोस

वायुमण्डलको तापक्रम बढेसंगै देशभर गर्मी बढिसकेको छ । सबै कामकाजका लागि बाहिर निस्कनै पर्छ । यस मौसममा छाला सम्बन्धी समस्या पनि बढ्ने गर्छ । यतीखेर छालामा घमौरा, डाबर, घामले छाला डढ्नु, धामको तापले खैरो हुनु लगायत एक्नेको समस्याबाट बच्नु समेत आवश्यक छ ।

वरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ प्रा.डा.धर्मेन्द्र कणर्ले बताएका उपाय अनुसार गर्मीमा छालाको हेरचाह लाई विशेष ध्यान दिँदै यसलाई दिनचर्यामा समावेश गर्नुस् । यसले गर्मी को मार झेलेर पनि तपाइको छाला मुस्कुराइ रहन्छ ।

डा.कणर्का अनुसार मौसम न्यानो हुँदै जाँदा, तपाई को छालामा रहेका सेबेशियस ग्रन्थिहरूले अतिरिक्त सिबम निकाल्न थाल्छ । सिबमलाई सामान्यतया प्राकृतिक तेल भनिन्छ । यो एक प्रकारको जटिल मिश्रण समेत हो जसमा फैटी एसिड , सुगर, वैक्स , र अन्य प्राकृतिक रसायन मिलेको हुन्छ । सिबेसियस ग्रन्थी वाट बन्ने सीवम अर्थात् तेल छालाको सतहमा जम्मा हुन्छ । जसका कारण छाला टाँसिने र छिद्रहरू बन्द हुने गर्दछ । अहिलेको गर्मी यामको सामान्य समस्या एक्ने पनि हो । मुख्य रूपमा तैलीय छाला भएकाहरूलाई यसको कारण धेरै समस्या सँग जुध्नु पर्छ ।

यस्तै यो मौसममा परा बैजनी किरणहरूको सम्पर्कमा आउँदा, छालाले आफूलाई क्षति हुन बाट जोगाउन मेलानिन को उत्पादनमा बृद्घि गर्छ । बढी मेलानिनको उत्पादनले छालाको रङ्ग कालो र खैरो हुन्छ । यति मात्र नभइ छाला चिलाउने र बिमिरो अर्थात् घमौरा समेत आउने गर्छ । यसैले गर्मी याममा डा.कणर्ले बताएका निम्न कुराहरूलाई ध्यानमा राखेर, तपाई सजिलै आफ्नो छालाको हेरचाह गर्न सक्नुहुन्छ ।

अनुहार धुनोस्

गर्मी मौसममा तैलीय छालाले बढी मात्रा मा तेल उत्पादन गर्छ । यस बाट जोगिन छालाको अनुकूल हुने फेसवाश प्रयोग गर्नु पर्छ । फेसवाशले छालालाई सफा गरेर धुलो र फोहोर हटाउँछ । सुक्खा छाला भएका हरूले तिनिहरू लाई हल्का, अल्कोहल मुक्त र पीएच सन्तुलित क्लिन्जर प्रयोग गर्नुपर्छ ।

मोइस्चराइजर उपयोग

गर्मीमा छाला जोगाउन मोइस्चराइजर धेरै महत्वपूणर् हुने भएकोले छालाको प्रकृति अनुसार नन-ग्रीसी फर्मुला भएको मोइस्चराइजर रोज्न सकिन्छ । हल्का र जेल आधारित मोइस्चराइजर उपयोग गर्नु राम्रो हुन्छ । नुहाए पछि मोस्चराइजर उपयोग गर्नु पर्छ ।

सन स्क्रिन को उपयोग

पराबैंजनी-ए र पराबैंजनी-बी किरणहरूले छालालाई हानी गर्छ । यसले छालालाई डढाएर कालो खैरो बनाउनु को साथै उमेर न पुग्दै चाउरी पना समेत निम्त्याउँछ । यस्तो अवस्थामा एसपीएफ ३०-५० भएको तेल रहित सन स्क्रिन को उपयोग गर्नु पर्छ । यसले छालालाई घामबाट हुने क्षतिबाट जोगाउनु को साथै छालाको छिद्रहरू बन्द हुनबाट समेत रोक्छ । घर भित्र बस्दा समेत सन स्क्रिन लगाउनु उपयोगी हुन्छ । यस्तै पौडी खेल्दा समेत छालामा सन स्क्रिन लगाउनु आवश्यक हुन्छ ।

छालाको राम्रो हेरचाह

गर्मी मात्र नभएर सबै मौसममा छालाको राम्ररी हेरचाह गर्नु पर्छ । सामान्यतया दिनमा एक या दुई पटक क्लिन्जिङ, टोनिङ र मोइस्चराइजिङ गर्दा छाला गर्मीमा समेत सफा र ताजा देखिन्छ । तैलीय छाला भएकाहरूले पानीमा आधारित उत्पादनहरू र सुक्खा छाला भएकाहरूले जेलमा आधारित उत्पादनहरू छनौट गर्नुपर्छ । क्रिम आधारित उत्पादनहरू उपयोग गर्नु हुँदैन । क्रिम आधारित उत्पादन हल्का हुँदैनन् र छाला लाई चिप्लोचाप्लो बनाउँछ ।

छाला ओसिलो राख्नुस्

गर्मी याममा छाला लाई ओसिलो (हाइड्रेटेड) राख्नु धेरै महत्वपूणर् हुन्छ । सुत्ने समय छाला सफा गरेर राम्रो सँग हाइड्रेटिंग मास्क लगाउनुपर्छ । यति मात्र नभइ दिनभरि अनुहारमा पानी छर्की राख्नु पर्छ र नियमित रूपमा फेसियल मिस्ट ले छाला लाई ताजा राख्नु पर्छ ।

एक्सफोलिएट गर्नुस्

गर्मी याममा छालालाई राम्ररी सफा गर्नु आवश्यक हुन्छ । छालामा रहेको प्वालहरुलाइ मृत छाला कोशिकाहरूले बन्द गर्छ । छाला लाई एक्सफोलिएशन गरेर मृत छाला कोशिका लाई हटाउन सकिन्छ । यो मौसममा छालाको अतिरिक्त फोहोर र तेल हटाउन सातामा दुई पटक फेस स्क्रब प्रयोग गर्नु पर्छ । छालाको प्रकार अनुसार स्क्रब उपयोग गर्नु पर्छ । यसलाई गोलाकार गतिमा बिस्तारै स्क्रब गर्नु पर्छ । अनुहार सँगै ओठ, घाटी मा पनि स्क्रब गर्नु आवश्यक हुन्छ ।

पानी र फलफूलको रस उपयोग गर्नुस्

गर्मी याममा आम व्यक्तिले दिनहुँ सरदर ३ लिटर पानी पिउनु उपयुक्त हुन्छ । उसो आफूलाई आवश्यक भए अनुसार पानी खाएर शरीरलाई हाइड्र्रेटेड राख्न सकिन्छ । पानीले अतिरिक्त हाइड्रेटेड रहन नरिवलको पानी, तरबुजो लगायत फलफूलको ताजा रस समेत लाभदायक हुन्छ । यस्तै दही र मही समेत यो मौसममा उपयोगी नै हुन्छ ।

दुई पटक नुहाउनुस
काठमाडौं वा पहाडी इलाकामा गर्मी याममा एक पटक नुहाउनु पर्याप्त भए पनि तराइ मधेशको अचाक्ली गर्मीमा आफ्नो शारीरिक अवस्था लाई ख्याल राख्दै दिनहुँ बिहान, साँझ वा राती गरी दुई पटक नुहाउनु उपयुक्त हुन्छ । नुहाउँदा शरीर चिसो हुनुको साथै यसमा जम्मा भएको फोहोर र पसिना समेत हट्छ । तर यदि तपाइको छाला सुक्खा छ भने दिनको एक पटक मात्र नुहाउनु उपयुक्त हुन्छ, छाला सुक्खा नहुने हरू दुई पटक नुहाए पनि हुन्छ ।

गर्मीमा छालालाई उपयुक्त किसिमका उपाय संगै खानपान र व्यामको समेत सन्तुलन मिलाउनु पर्छ । यसो गर्नाले छाला सधै कसिलो बन्छ ।