नेपालबाट आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यात : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु हुन थालेको हो ।
सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा भारतको आइएक्समा बिक्री भएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री भैइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति लिएको छ ।

प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ रुपैयाँ (१ असार)मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा रहेको छ । सबैभन्दा कम औसत दर ७ असारमा रहेको थियो । त्यस दिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा रहेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको जानकारी दिएका छन् ।

कुलमान घिसिङले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताएका छन् ।