सार्वजनिक सवारीको भाडा ११ प्रतिशतले बढाउने सरकारको तयारी

नयाँ बसपार्क काठमाडौं ।

७ चैत, काठमाडौं ।
सरकारले फेरि सार्वजानिक सवारी साधनको भाडादर बढाउने भएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो ।
यातायात व्यवस्था विभागले प्रतिवेदन एक-दुई दिनमै विभागबाट मन्त्रालयमा पेश भए लगतै नयाँ भाडादर लागु हुनेछ ।
हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको छ ।
विभागका अधिकारीका अनुसार तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने विभागका एक अधिकारीले बताए । यो प्रस्तावमा यातायात व्यवसायी सहमत भएका छन् ।
डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको व्यवसायीसँगको बैठकमा सरकारले मूल्य वृद्धि घटाउने भन्दा भाडादर फेरि समायोजन गर्ने सहमति जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो मागमा बेवास्ता गरेमा आफैंले भाडा समायोजन गरेर उठाउने चेतावनी दिएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ ।
असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । वैज्ञानिक भाडा समायोजन गर्ने सूत्रअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ ।
‘भाडामा ३५ प्रतिशत भार डिजल-पेट्रोलको हुन्छ, त्यही चिज २५ रुपैयाँ महँगो हुँदा उही दरमा भाडा राखिरहँदा गाडी कसरी चल्न सक्छ ?’ उनी भन्छन्,’५ रुपैयाँ घटबढ हुँदा नै भाडा समायोजन गर्ने सरकारी व्यवस्था छ, तुरुन्तै भाडा समायोजन हुनुपर्छ भन्ने कुरमा सरकार पनि सहमत भएको छ ।’

तुरुन्तै भाडा समायोजन नभए सार्वजनिक सवारी चल्नै नसक्ने अवस्था बनिसकेको सिटौलाको दाबी छ । महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक-पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।

आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा थप बिगार्ने गरी मूल्य बढाइरहेको सिटौलाको आरोप छ । कोरोना कहरको चपेटामा परेका आम यातायात व्यवसायीहरुले बैंक व्याज किस्ता बुझाउन नसकेको अवस्थामा पेट्रोलियम पदार्थ पटक-पटक मूल्यवृद्धिले ठूलो समस्या परेको महासंघले जनाएको छ ।