सेयर बजारमा निरन्तर गिरावट आएपछि, नो-भोट अभियान

काठमाडौं ।

पछिल्लो समय नेपाली सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

बजारमा भारी गिरावट आएसँगै आम लगानीकर्ताहरु त्रसित हुन थालेका छन् ।

दिनहुँजसो भारी गिरावट आउन थालेसँगै लगानीकर्ताहरुले सामाजिक संजालभरि नो भोट अभियान चलाएका छन् । उनीहरुले राजनीतिक दलहरुलाई चुनौती दिन ‘नो भोट’ अभियान चलाएका हुन् ।

बजार घट्नुसँगै लगानीकर्ताहरुले करोडौँ घाटा व्यहोरेका छन् । बजार घटिरहँदा बजार ‘बियरिस ट्रेन्ड’ गएको त हैन ? भन्ने प्रश्न पनि लगानीकर्ताहरुको मनमा उब्जिरहेको छ ।

तर कतिपय ठूला लगानीकर्ता, सेयर विश्लेषक तथा जानकारहरु भने बजार बढ्नको लागि आएको करेक्सन मात्र हो भनेर तर्क बितर्क गरिरहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालभरि सेयर बजारको चर्चा हुन् थालेको छ । आम लगानीकर्ताको आकर्षणको केन्द्र बनेको सेयर बजार निरन्तर ओरालो लागेसँगै यसको बारेमा तर्क वितर्क गर्नेको संख्या पनि बढ्न थालेको हो ।

यसैबीच बजार घटिरहँदा नयाँ तथा साना लगानीकर्ता भने आत्तिएका छन् । कतिपय विश्लेषक भने अहिले बजार प्रवेश गर्ने बेला भएको भन्दै तर्क दिइरहेका छन् ।

आज आइतबार मात्रै सेयर बजारमा ३.६२ प्रतिशतको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा पुगेको छ । नेप्से लामो समयपछि २३ सयको बिन्दुमा झरेको हो ।