पाल्पामा नेपालकै अनौठो मन्दिर

— पाल्पाको तिनाउ गाउँपालिका-४, लगाड कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती ताल मन्दिरमा हरेक वर्ष कार्तिक पुणर्िमा मेला लाग्ने गर्दछ । त्यस्तै यस वर्ष पनि पहिले भन्दा बढी घुँइचो लागेको छ । सत्यवती ताल मन्दिर बिहीबारदेखि मेला सुरु भएको छ । यहाँ लाग्ने मेलालाई नेपालमै अनौठो मानिन्छ ।
यस मन्दिरमा सत्यवती बज्यैले कान कम सुन्ने भएकाले चिच्चाएर वर माग्नु पर्ने विश्वास रहेको छ । यसरी चिच्चाएर वर माग्दा आफुले चिताएको पुरा हुने जनविश्वास छ । त्यही जनविश्वासअनुसार नै हजारौँ श्रद्धालु मेला भर्न आएका छन् । दिउँसोमा भन्दा बढी भीड रातिमा लागेको छ ।
सत्यवती तालको वरपरको भागमा बाँसको लिंगो लिएर चिच्याउँदै वर माग्ने गरिन्छ । तालको वरपर लिंगो गाडेर त्यसैमा पूजा गर्ने चलन रहेको छ । पछिल्ला दिनमा बाजे बज्यैको मन्दिरसमेत निर्माण भएको छ । त्यही मन्दिरमा पूजा गर्ने, बलि चढाउने गर्छन ।