सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न नसकेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले बताए । दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको उनले जानकारी दिए ।

अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको उनले जानकारी गराए । उनका अनुसार गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ ।

गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपेन्द्र केसीले घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको र विस्तृत विवरण केहीबेरमा बाहिर आउने जानकारी दिएका छन् ।