कालीकोटकाे पचालझरनामा नमूना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम समापन

युवा पुस्तालाई गाउँपालिकाको नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले कालीकोट जिल्लाको पचालाझरना गाउँपालिकामा नमुना युवा संसद अभ्यास अन्तर्गत गाउँसभा सञ्चालन गरिएको छ । ‘समृद्ध नेपाल निर्माणका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ पचालाझरना गाउँपालिकास्तरीय नमुना युवा गाउँसभा अभ्यास प्रशिक्षण कार्यक्रम गरिएको हो ।

युवाहरुले गत शनिबार बैशाख १५ गते पचालाझरना गाउँपालिकाको कार्यपालिका सभाहलमा गाउँसभाको अभ्यास गरेका हुन् । पचालाझरना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले पहिलोपटक आयोजनामा गरेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको हो । नमुना युवा गाउँसभा अभ्यास प्रशिक्षण कार्यक्रमका नवनिर्वाचित अध्यक्ष मनाेज न्यौपाने र उपाध्यक्षमा जानकी खड्काले भूमिका निर्वाह गरेका थिए ।

यसैगरी सुमन शाही , रोशन ढोली , सन्तोष बम, हिमाल न्यौपाने टेका बहादुर खड्का , रबिन्स शाही , दिल बहादुर कुवर ,अंग थापा , बाचपुर शाही ,एलिना तिवारी , ऋतु विश्वकर्मा, ज्ञन बहादुर बम , संगत दर्जी , सुनिता शाही , अनिल शाहीले गाउँपालिकाको कार्यपालिका सदस्यको भूमिका निर्वाह गरेका थिए । गाउँसभा अभ्यासको क्रममा निर्वाचित सदस्यहरुले पचालझरना गाउँपालिकामा पर्यटकीय क्षेत्रको विस्तारमा होमस्टे, पर्यटकीय मार्ग, गाउँपालिकामै उत्पादित जडिबुटीको प्रशोधन र बजारको व्यवस्था, कृषिमा युवा जागरुक, स्वरोजगार, घरेलु व्यवसाय, वैदेशिक रोजगारलाई निरुत्साहित गरी स्वदेशमै रोजगारको सिर्जना लगायतका सुझाव राख्नुको साथै गाउँपालिकाको आर्थिक नीति, विधयेक, करलगायतका बारेमा संशोधन मागसहित सुझाव पेश गरेका थिए ।

गाउँसभामा सबैको प्रतिनिधित्व हुने गरी समावेशी कार्यपालिका सदस्य गठन गरिएको थियो । सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने लगायतका कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन् । समापन कार्यक्रममा बोल्दै अध्यक्ष मनाेज न्यौपानेले युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राखेका थिए । अध्यक्ष न्यौपाने आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउँदै गाउँपालिकालाई सुझाव दिन सक्ने युवा तयार पर्नाको लागि पालिकाले यो कार्यक्रम गरेको जानकारी दिए । भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवश्यक रहेको उपाध्यक्ष जानकी खड्काले बताइन् ।

नमुना युवा संसद अभ्यासद्वारा सञ्चालित कार्यक्रमका अध्यक्ष पदमा निर्वाचित न्यौपानेले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले युवा अवस्थामा यस्तो खाले तालीम प्रयोगात्मक हुदाँ युवालाई गाउँपालिकाको निति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । गाउँपालिकाभित्रका १५ वर्ष देखि २४ वर्ष उमेरका ३० जना युवाहरुले बैशाख १५ गतेदेखि १८ गतेसम्म गाउँपालिका चलाउने गाउँसभा अभ्यास गरेका थिए । नमुना संसद अभ्यासमा तथा प्रशिक्षण कार्यक्रमको समापन समारोहमा ९वटै वडाका अध्यक्षहरु, पचालझरना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।