दैलखमा १३०० बिरामीले लिए निशुल्क स्वास्थ्य सेवा

चैत २, दैलेख । दैलेखमा १ हजार ३०० बिरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दैलेख अस्पताल र नारायण नगरपालिकाको आयोजनामा सञ्चालित पाँच दिने हार्डजोर्नी तथा नसा रोग शिविरमा बिरामीहरूले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् ।

मिड सोलुसन फाउन्डेशन स्विट्जरल्याण्डको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरमा १ हजार २ सय ३१ जना बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको दैलेख अस्पतालका डा. धर्मराज रेग्मीले बताए । उनका अनसार ७५ जना हाडजोर्नी सम्बन्धी बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

हड्डी भाँच्चिएको, हड्डी भाँच्चिएर रड राखेर बिग्रीएको, हातखुट्टा बाँगिएको जस्ता जटिल स्वास्थ्य समस्या झेलिरहेका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको डा.रेग्मीले बताए ।

शिविरमा हातखुट्टा भाँच्चिएको,बांगिएको र नसा सम्बन्धी रोगको उपचारका लागि विदेशीसहित नेपाली विशेषज्ञ चिकित्सकको टोली दैलेख आएको थियो । स्विट्जरल्याण्ड डा.क्याट्रिन हेगनको नेतृत्वमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीसहित १६ जना विशेषज्ञ चिकित्सकहरुले उपचार सेवा प्रदान गरेका हुन् । यहाँ उपचार हुन नसकेका बिरामीहरुको काठमाडौंमा शल्यक्रिया गरिने बताइएको छ ।