२ केजी ६५४ ग्राम लागुऔषध कोकिनसहित अन्तरराष्ट्रिय काराेबारी पक्राउ

अन्तरराष्ट्रिय स्तरका ३ जना कोकिन कारोबारी सहित २ केजी ६५४ ग्राम लागुऔषध कोकिन प्रहरीले बरामद गरेको हो । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।


नेपाल प्रहरिको लागुऔषध नियन्त्रण ब्युरोले बिहीवार काठमाडौँका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले पत्रकार सम्मेलनमा बोल्दै पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताए । उनकाअनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ ।

अवैध लागुऔषध कोकिन पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ । जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । उनले भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको बताए ।

बरामद गरिएको अवैध लागुऔषध कोकिन २ के.जी. ६५४ ग्रामको अवैध बजारमूल्य ७ करोड ९६ लाख रहेको प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले बताए । निजहरूउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ । थपलियाका अनुसार कसुर अनुसारको उनीहरुलाई कानुनी सजाय हुने बताए ।