झापामा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गमा पिकअप गाडीले अटो रिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालकको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।

बुद्धशान्ति-७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।

बुद्धशान्ति-४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई सोमबार पछाडिबाट ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा अटो चालक खड्कासँगै मेचीनगर-७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर-४ की ३२ इन्दिरा राई घाइते भएका थिए घाइते मध्य चालकको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे निधन भएको छ ।

पिकअप चालक इलाम सूर्योदय नगरपालिका-१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।