कतारमा नेपाली युवकको हत्या

रोल्पा ।

वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका – ५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ ।

ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन हत्या गरिएको हुनसक्ने आशंका गरेकी थिईन । घटनाबारे थप जानकारी पाउन र दोषीमाथि कारवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उजुरीसमेत दिएकी छन् ।

उनका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दैआएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य विवाद भएको र त्यसै कारणले भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै जानकारी दिएका थिए ।

‘पहिले श्रीमानसँग साथै बसेको र पछि विवाद भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ निवेदनमा उनले भनेकी छन्, ‘कात्तिक २९ गते सोही व्यक्तिबाट चक्कु प्रहार गरी हत्या भएको जानकारी आयो ।’