चुनावपछि प्रत्यक्ष राष्ट्रपतिका लागि आन्दोलन गर्नुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूणर् समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन्।

आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले चुनाव अघि त्यो सम्भावना नरहेको बताए।

चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्न तयार हुनसमेत प्रचण्डले निर्देशन दिएको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले बताए।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूणर् समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान नै संशोधन गर्नुपर्छ।

प्रचण्डले अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने समेत बताएका थिए। उनले कांग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि त्यसलाई मिलाएर अघि बढ्नु पर्ने बताएका थिए ।

कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुने उनको चेतावनी छ ।

‘हामीसँग पनि चुनाव लड्ने क्षमता छ। सत्तामा रहेका वाम दलहरू एक ठाउँमा आउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले भने,‘सत्ता गठबन्धनमै पनि एकातिर कांग्रेस छ भने अर्कोतिर हामी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका वाम दलहरू छौं। त्यसैले हामी पनि अघि बढ्न सक्छौं।’

यस्तो धारणा राखे पनि प्रचण्डले गठबन्धन गरेर अघि बड्नु पर्नेमा पटक-पटक जोड दिएका थिए। उनले कांग्रेस सहितकै गठबन्धन हुनेसमेत बताए।