माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ : झलनाथ खना

नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् ।

खनालले तत्काल कार्यगत एकता गरेर एकीकृत समाजवादी र माओवादी निर्वाचनमा जाने बताए। पाल्पामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने पनि बताए ।

नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको उनको भनाइ थियो ।

नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उनले बताए ।

मंसिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए ।

कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको स्मरण गर्दै उनले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिष्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताएका थिए ।