बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु

बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहराको बुधबार मृत्यु भएको हो ।
पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्याङजाको गल्याङ नगरपालिका-६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँ बस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्र गुरुङको बुधबार मृत्यु भएको छ ।
सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकी बिन्द्र डुबेर अशक्त भएकी थिइन् । उनीहरुलाई तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।