साझाका थप ३७ बिजुली बस आउँदै

काठमाडौं । साझा यातायातले थप बिजुली बस खरिद गर्ने भएको छ । साझाले ३ वटा बिजुली बस ल्याएर थप ३७ वटा बस ल्याउने नयाँ प्रक्रिया सुरु गरेको हो ।

साझा यातायातका सञ्चालक भुषण तुलाधरका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र विशेषतासहितको स्पेसिफिकेसन दिन आग्रहसमेत गरिएको छ । ‘कस्ता कस्ता बसहरु बजारमा छन् भन्ने अध्ययन गर्न पनि यसले सघाउँछ’ उनले भने, ‘कुनै राम्रो विशेषताहरु रहेछन् भने हामीले ल्याउने बसमा त्यसलाई समावेश गर्न पनि सहयोग पुग्छ ।’

अहिले नै कतिवटा थप बस किन्ने भन्ने निणर्य भने नभ उनले बताए । तर, २०-२० वटा गरेर ४ प्रकारका बसका लागि स्पेसिफिकेसन मागिएको हो ।

साझा यातायातले अन्तरप्रदेश समेत चल्ने गरी बिजुली बस ल्याउन तयारी गरिरहेको छ । एकैपटक ठूलो संख्यमा बस ल्याउँदा चार्जिङ र पार्किङको पनि समस्या हुने भएकाले अबको लटमा पनि धेरै ठूलो संख्यामा बस नलाइने साझाले बताएको छ ।

साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा दिइरहेको छ ।

आगामी दशैंसम्म बाँकी ३७ वटा पनि ल्याइसक्ने तयारी छ । चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो ।

अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले चलेका बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायत विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ ।

क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्ने जाने साझाले जनाएको छ ।