बागलुङमा २ जनामा डेङ्गु फेला

बागलुङ ।
बागलुङमा लामखुट्टेको टोकाइबाट डेङ्गु रोग दुई जनामा फेला परेको छ । गर्मी बढेसँगै उक्त जिल्लामा डेङ्गुको जोखिम हुन थालको हो ।

धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिएका छन् । उनीहरु शनिबार र आइतबार अस्पताल आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका-७ का र ९ हुन् । ती बिरामीको अवस्था अहिले भने सामान्य भएको अस्पतालले जानकारी दिएको छ ।

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेङ्गु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ । वर्षात्का कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएको छ ।