प्रधानमन्त्री देउवालाई सुत्ने उठ्ने बेला सम्म फुर्सद छैन – आरजु राणा देउवा

फाईल तस्वीर

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्रीलाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नभएको बताएकी छ्न् । सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले प्रधानमन्त्री हुन पनि गाह्रो हुने बताउँदै प्रधानमन्त्री देउवालाई सुत्ने बेलादेखी उठ्ने बेलासम्म पनि फुर्सद नभएको बताएकी हुन् ।

‘उहाँ (शेरबहादुर देउवा) पाँच पटक सत्ता सम्हालिसक्नुभयो । सत्ताको कुरा के हो भने, पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न जनतालाई भनेअनुसार काम गर्न गाह्रो छ,’ उनले भनिन्, ‘कर्मचारीतन्त्रको दुनियाँ अर्कै छ, राजनीति गर्नेको दुनियाँ अर्कै छ। मिलाउन एकदमै गाह्रो छ।’

उनले सयको स्पिडमा काम गरिहालौं भन्ने नेताको सोच भए पनि काम भने १० को स्पिडमा पनि नहुने गरेको बताइन् ।

उनले प्रधानमन्त्रीलाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने बताइन् ।

‘म पदमा त बसेको छैन। मैले देख्छु कि प्रधानमन्त्री हुन पनि गाह्रो छ। उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ,’ उनले भनिन्, ‘मिटिङ, सेमिनार, राजदूत, मन्त्री, को-को हो के हो ।’

स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको उनले बताइन्। उनले आफूलाई सुशासनबारे चिन्ता लागेको उल्लेख गरेकी थिइन्।