आइतबार विदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घटेको आयल निगमको दाबि

६ असार, काठमाडौं । नेपाल आयल निगमले आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएको छ ।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएका हुन् ।

उनका अनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमात्र भएको थानीले बताए ।

सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यद्यपि सरकारले असार १ देखि आइतबारको विदा कटौती गरेको छ ।