सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

२६ जेठ, सप्तरी । सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा बर्षासँगै खसेको चट्याङले २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खेतमा काम गरिरहेको बेला वर्षा हुन थालेपछि एउटै छातामा दुवैजना ओत लागेको अवस्थामा खसेको चट्याङ लागेर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।