मोरङको लेटाङमा एमाले मेयर र उपमेयर विजयी

विराटनगर: गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मोरङको लेटाङ नगरपालिकाको दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा भुपेन्द्र कुमार लावती र उपमेयरमा कृष्णकुमारी निरौला विजयी भएका हुन् । बुधबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लावतीले १० हजार २२७ मत ल्याएर विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बने कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत मात्रै ल्याए पराजित भएका छन् । लावती र ढकालको २ हजार १२२ ले मतान्तर रहेको छ ।
उपमेयरमा निर्वाचित निरौलाले ९ हजार ४६० मत ल्याएर विजयी भएकी छिन् । नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद लम्सालले ४ हजार ९०५ मत ल्याएर पछि परेका छन् ।

२०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार लावतीलाई पराजित गर्दै कांग्रेसका शंकर राई लेटाङको मेयरमा निर्वाचित भएका थिए । यसपटक भने लावतीले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नगरको नेतृत्व गर्ने मौका पाएका हुन् ।

त्यतिबेला उपमेयरमा निरौलाले नै निर्वाचित भएकी थिइन् । दोस्रो कार्यकालका लागि उनी पुनः सोही पदमा विजयी भएकी हुन् ।