पर्साको कालिकामाईमा २१ वर्षका वशिष्ठ कुमारले गाउँपालिको अध्यक्ष जिते

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएका २१ वर्षीय वशिष्ठ कुमार कलवाल विजयी भएका छन् ।

बि.बि.ए को अध्ययन सकेर एम.बि.ए को तयारीमा रहेका कलवालले गाउँपालिका अध्यक्ष जित्न सफल भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार वशिष्ठ कुमारले ३ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन् ।

नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६ सय २६ मत ल्याएर पराजित भएका छन् ।

वशिष्ठ कुमार जसपा पर्साका नेता दिनेशकुमार कलवालका भतिजा पनि हुन् ।

’दिनेशजीले मेरो भतिजो युवा छ । पार्टीमा क्रियाशील छ । उसैलाई उठाउने हो भने जित्छ भनेका थिए । उहाँ कै आग्रहमा कलवाललाई टिकट दिएको हो,’ जसपा सांसद प्रदीप यादवले जानकारी दिएका छन्,’२१ वर्ष २ महिना मात्रै पुगेका युवाले चुनाव जितेका छन् । यसले हामी सबैलाई उत्साही भएका छैँ ।’

२०७४ मा यो पालिकामा नेपाली जनता दलका नाथुनी प्रसादले अध्यक्ष जितेका थिए । तत्कालिन संघीय समाजवादी फोरम(अहिलेको जसपा)ले उपाध्यक्ष जितेको थियो । अध्यक्ष नाथुनी प्रसादको कोरोनाका कारण मृत्यु भएकाे थियो ।

यस अघि सर्लाहीको रामनगरमा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादवले गाउँपालिका अध्यक्ष जितेका थिए ।