प्रदीप गिरीको क्षेत्र सिराहाबाट चुनाव लड्ने सरिता गिरीको घोषणा

भदौ ९, काठमाडौं । बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा १ बाट चुनाव लड्ने घोषणा गरेकी छन्

। नेतृ गिरीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन् । लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरी स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै छिन् भन्ने खुलेको छैन ।

बुधबार उनले दिवंगत कांग्रेस नेता प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताएकी थिइन् । सरिता प्रदीप गिरीकी भाइबुहारी हुन् ।

‘म सिरहाको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु,’ उनले लेखेकी छन् । सिरहा १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरी विजयी भएका थिए । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप गिरी सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए ।