मधेश प्रदेशले बढायो मुख्यमन्त्रीदेखि सांसदसम्मको पारिश्रमिक र इन्धन

भदौ ९, सुर्खेत । गत साउन २३ को मन्त्रिपरिषद् निणर्यअनुसार भदौ ५ मा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिए अनुसार मधेश प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको तलब तथा सेवासुविधा वृद्धि गरेको छ।

मन्त्रिपरिषद् बैठकको निणर्यअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष तथा सदस्यको तलब दुई हजार रुपैयाँका दरले वृद्धि गरिएको हो ।

मधेशका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवासुविधामा वृद्धि गरेका हुन्।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची (१) को १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार थप गर्ने र सवारी इन्धनको इकाइ दरमा ‘लिटर’ शब्दको पछाडि ‘प्रतिमोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निणर्य गरिएको हो।

कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको र जसअनुसार अब मधेश प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९७० रुपैयाँ तलब पाउनेछ।

त्यस्तै मन्त्रीले ५९ हजार ७८०, राज्यमन्त्रीले ५८ हजार ४९० र सहायक मन्त्रीले ५५ हजार तलब पाउने भएका छन्। मुख्यमन्त्रीलाई विगतमा प्रतिमहिना ३०० लिटर इन्धन प्रदान गर्दै आएकामा अब प्रतिगाडी ३०० लिटर इन्धन पाउनेगरी मन्त्रिपरिषदबाट निणर्य गरिएको छ। यसअघि मन्त्रीले प्रतिमहिना २५०, राज्यमन्त्रीले २२५ र सहायक मन्त्रीले २०० लिटर सवारी इन्धन पाउँदै आएका थिए । सांसदको सेवासुविधा पनि वृद्धि गरीएको छ ।

प्रदेशसभाका पदाधिकारी र सांसदको समेत दुई हजार रुपैयाँ र सेवासुविधा वृद्धि भएको छ। अब प्रदेश सभामुखले मासिक ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षका सचेतकले ५९ हजार ७८० पाउनेछन्। यस्तै दलको नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९०, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यले ५४ हजार ६०० रुपैयाँ पाउनेछन्