तिमीले सजाइदिएको सिन्दुर


तिमीले सजाइदिएको
एक चुट्की तिमीले सजाइदिएको सिन्दुरको विशालता
बित्दै गएको दिनहरू सँगसँगै
तिमीले दिएको सद्भाव
मानसपटलमा कैद नै छन्

मुटुका गतिले तिमीलाई लुटुपुटु गरी
ढड्कनका चालहरू सँगसँगै
हर श्वासमा बेरिएर
आँखाका नानीमा सजाएर राख्ने गरेकी छुँ
हर स्पर्शमा प्रकट हुने तिम्रा जादुमय इन्द्रजाल
हर्षका पनि भावविह्वल प्रकट हुँदा रैछन्
ष्लखयतभअज

अग्नी साक्षी राखी लगाएको सात फेरो
सात जुनीकै लागि गाँठो बाँधिएजस्तै
प्रसन्नताको शिखर काँचुली फेरिएझैँ
हर ऋतुहरूमा नयाँ पालुवाको आगमन सरी
प्रतिक्षारत भई मौलाउने गर्दछन्

घाँटे तिलहरी सदा सजाउने अठोट राखी
सिन्दुरको संशुद्धताको पालनामा छु प्रिय
शिर बिसाउँदै अडेसिने तिम्रा काँधहरू
भावको गहराइमा डुबुल्की मार्दै
स्वर्गीय अनुभूती गर्दछु
लष्अ

बिस्फोट हुन नसकेका आँसुका भेलहरू
रातो सिन्दुर शक्तिमान छेकवार बन्दैछन्
आश्रयका रुपमा मौजुदा आत्मीय विश्वास
जीउने आधारका साक्षी ऐना झल्कँदै छन्

मौनतामा डुबेर एकटक हेर्ने तिम्रा जादुमय आँखा
लाग्छ हरक्षण सामीप्यताको पर्खाइमा
स्वप्न नगरी डुबुल्की मार्न तल्लीन हुन्छु

सिन्दुरको गहनताको विशालता
र तिमी
तिमीजस्तै रहनु सधैं सधैं प्रिय।