रुपन्देहीको बुटवलमा बम बिष्फोट गराएको आरोपमा प्रहरीद्वारा ३ जना पक्राउ

स्थानिय तह निर्वाचन अघि रुपन्देहीको बुटवल उप-महानगरपालिकामा बम बिस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।बैशाख २८ मा बुटवलस्थित मिलन चोकमा बम बिष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गरतौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक रहेका छन् । उनीहरुलाई जेठ १ मा बुटवल उप-महानगरपालिका-१३ नयाँ गाउँ र सैनामैना नगरपालिका-१ बाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिएका छन् ।

घटना स्थलमा नेकपा माओवादी केन्द्रीय समितीले चुनाव बहिष्कारबारे ‘कमरेड नेपाल’ले जारी गरेको विज्ञप्ती भेटिएको थियो । बैशाख २८ मा साँझ बुटवल उप-महानगरपालिका वडा नम्बर-९ मिलनचोक स्थित आकाशेपुल मुनि प्रेसर कुकर बम बिष्फोट भएको होे । ‘निर्वाचन बहिष्कार गरौं’ भन्ने पम्प्लेटसहित पक्राउ गरिएका आरोपीहरुलाई प्रहरीले बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।