देश विकासका लागि बजेटले उद्योगलाई प्राथमिकता दिनुपर्ने झलनाथ खनालको भनाइ

पूर्व प्रधानमन्त्री तथा नेकपा समाजबादीका नेता झलनाथ खनालले औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने जानकारी दिएका छन् ।
बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
‘जबसम्म देशमा उद्योग बढाउन सक्दैनौँ, तबसम्म देशको विकास कथा मात्रै हुनेछ,’ उनले भने, ‘देशमा राज्य, समुदाय वा निजी क्षेत्रबाटै उद्योग स्थापना गर्न सक्छन् । देश विकासको लागि नभई नहुने यस्ता उद्योग कृषि, पर्यटन, जल, ऊर्जा र खानीजन्य क्षेत्रमा आवश्यक छ । ती क्षेत्रमा उद्योग स्थापना गर्नुपर्ने आवश्यकता भएकोले आगामी बजेटले जोड दिनुपर्छ ।’
देशका विभिन्न क्षेत्रमा स्थापना हुने उद्योग जग हुने भएकोले देश विकासको लागि उद्योग नै चाहिने तर्क खनालले प्रस्तुत गरे । बजेट बनाउँदा उद्योगलाई ध्यान दिनैपर्ने उनको भनाइ छ । ’पूर्वबजेट छलफल गर्ने तर यसका सुझाव समावेश नगर्ने हो भने बजेट बनाउनुको कुनै अर्थ छैन,’ उनले बताए ।
उनले आगामी आवको बजेटले अहिलेको अर्थतन्त्रको संकट टार्न सक्ने पनि बताएका छन् ।
अर्थतन्त्रमा संकट र चुनौती थपिएको भन्दै उनले अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न पनि अबको बजेट प्रभावकारी हुने उनको भनाइ रहेको छ ।
खनालले भने, ‘हरेक स्थानीय तहमा कृषि बजार बनाउनुपर्ने, साना-साना बजारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्नेसहितको काम पनि बजेटबाटै हुन सक्छ ।’