पहिरोका कारण छिन्चु-जाजरकोट-चौरजहारी सडक अवरुद्ध

सल्यान
भिरबाट खसेको पहिरोका कारण छिन्चु-जाजरकोट-चौरजहारी सडक अवरुद्ध भएको छ । गत राती परेको वर्षासँगै सल्यानको सिमाना पर्ने बोटेचौर सल्लीबजार सडक खण्डका पोखरे, धागेचरी, कुरिल्ले र जुम्ली भिरका विभिन्न ठाउँमा पहिरो गएको छ ।

पहिरोका कारण सडक १९ घन्टादेखि अवरुद्ध भएको छ । वर्षाका कारण सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन बिचैमा रोकिएका छन् । यात्रुहरू पैदल हिँड्न बाध्य छन् ।

अहिले पहिरो क्षेत्रमा स्काभेटर द्वारा पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।