धादिङमा कांग्रेस कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षलाई कुटपिट

गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ

धादिङ । धादिङमा काँग्रेसका कार्यकर्ताले आफ्नै पार्टि बाट निर्वाचित गाउँपालिका अध्यक्षलाई कुटपिट गरेका छ्न् । बैशाखमा हुने स्थानीय तहको निर्वाचनको उम्मेदारीका बिषयमा विवाद हुदाँ खनियावास गाउँपालिका का अध्यक्ष रणबहादुर तामाङमाथि मंगबार बेलुकी काँग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन ।

कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ ।

कांग्रेस नेता तथा गाउँपालिका अध्यक्ष तामाङले आफूमाथि आक्रमण भएको बताए।

‘टिकटको विषयमा कुराकानी भइरहेको थियो, मैले पनि केही कुरा राख्दा आक्रमण गरे,’ उनले भने, ‘मलाई कचौराले हानेका हुन् । कुरा राख्दा आक्रमण होला भन्ने मैले सोचेकै थिइनँ ।’

उनको अनुहारमा चोट लागेको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ ।

‘आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरिसक्यो, घटना सामान्य हो,’ गाउँपालिका अध्यक्ष तामाङले भने । घटना हुनुभन्दा पहिले पेस्तोल पड्केको दाबीसमेत उनले गरेका छन् ।

यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । गाउँपालिका अध्यक्ष तामाङले आफू फेरि पनि पार्टीबाट उम्मेदवार हुन चाहेको कुरा राखेपछि विवाद भएको थियो ।