अछामका १५ वर्षीय विनोद शाही हत्या प्रकरण : मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी

तस्बिर : हत्या गरिएका १५ वर्षीय विनोद शाही ।

विनोद शाही हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । जाहेरीमा जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीलाई पनि किटान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाममा बिहीबार दर्ता गरिएको जाहेरीमा मेयर चलाउने र स्थानीय नेत्र शाहीको योजना र निर्देशनमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय विनोदको हत्या गरिएको भनी किटान गरिएको मृतकका दाजु बखतबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र विनोदको हत्या गरेर त्यसको तीन दिनसम्म उक्त घरमा ताला लगाई बन्द राखिएको थियो । घरको चाबी हराएको बहाना गरेर उनीहरूले घरभित्र शव लुकाएको र तेस्रो दिनको राति शव लगेर भिरमा खसालेपछि मात्र ढोका खोलेको उनको आरोप छ । मृतक विनोदका परिवार एमाले र एकीकृत समाजवादीनिकट हुन् भने घटनामा संलग्न भनी किटान गरिएका सबै कांग्रेसनिकट हुन् ।

घटनामा केही राजनीतिक रंग भरिएको भए पनि विनोदको हत्या भने लामो समयदेखिको पारिवारिक विषयलाई लिएर भएको बखतबहादुरले बताएका छ्न् । ‘थोरै राजनीतिक रंग पनि छ,’ उनले भने, ‘त्योभन्दा धेरै पारिवारिक दुश्मनी हो । जे भए पनि हामीले न्याय पाउनुपर्छ ।’ प्रहरीकै संरक्षणमा योजनाबद्ध रूपमा विनोदलाई अपहरण गरेर हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउने, जिल्ला समन्वय समिति उपप्रमुख दानमती शाही र वडा ४ का निर्वाचित अध्यक्ष सर्जन शाहीसहित सबै १३ जनाका नाममा प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि शवको पोस्टमार्टम गरेर दाहसंस्कारका लागि तयार भएको मृतकका आफन्तले बताए ।

प्रहरीमा दर्ता गरिएको जाहेरीमा किटान गरिएकाहरू वडा नम्बर ४ कुच्चीकै रामबहादुर शाही, नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, कणर्बहादुर शाही, देवेन्द्र शाही, अक्कल शाही र पृथ्वी शाही रहेका छन्। उनीहरूमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए।

जेठ १७ गते कुच्चीगाउँमा स्थानीय युवाहरूबीच झगडा भएको थियो। त्यही दिनदेखि बेपत्ता भएका विनोद पाँच दिनपछि मध्यपहाडी लोकमार्गनजिकैको भिरमा मृत अवस्थामा भेटिएका थिए। विनोदको शव भेटिएदेखि नै उनको हत्या गरिएको र त्यसमा संलग्नमाथि कारबाही हुनुपर्ने माग गर्दै पीडित पक्षले पोस्टमार्टम र शवको दाहसंस्कार गर्न मानेका थिएनन्। शव भेटिएको ६ दिनपछि बिहीबार जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि आरोपित सबैलाई पक्राउ गर्ने सर्तसहित किटानी जाहेरी दर्ता गरेपछि उनीहरू शवको पोस्टमार्टम र दाहसंस्कारका लागि मञ्जुर भएका हुन् ।