गोली हानि हात्ती मारेर दारा र पुच्छरको रौँ तस्करी

झापामा तस्करले हात्तीलाई गोली हानेर मारी दारा र पुच्छरको रौँ लगेको पाइएको छ । मेचीनगर नगरपालिका वडा नं ११ स्थित कालिका सामुदायिक वनभित्र करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार हातिको कानको छेउमा गोली हानेको भेटिएको छ ।

हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्ने उनले बताएको छन् । उनले भने, कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ । राईले भने कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर गोली धेरै भित्र पसेकाले निकाल्न सकिएन ।

हात्ती मारेर आराले दारा काटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । करेन्ट लगाएर यसभन्दा अघि हात्तीहरू मार्ने र विद्युतीय धरापमा परेर यसभन्दा अघि हात्तीहरू मारिने गरे पनि बन्दुकको गोलीले हात्ती मारिएको यो पहिलो घटना भएको डिभीजन वन कार्यालय झापाले जनाइएको छ । डिभीजन वन कार्यालयका अनुसार हात्तीको दारा र पुच्छर महँगो मूल्यमा बिक्री हुने भएकाले तस्कर समूहले पहिलो पटक झापामा यस प्रकारको घटना घटाएका हो ।