नेपालगञ्जमा बाघको छालासहित एक जना पक्राउ

नेपालगञ्जमा बाघको छाला सहित एक जना पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट दुलर्भ पाटेबाघको छालासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराहताल गाउपालिका २ का २८ वर्षीय चन्द्र बहादुर कार्की रहेका छन् ।

हरियो कालो रंगको झोलामा लुकाएर ल्याएको बाघको छाला होटेलमा राखेको अवस्थामा प्रहरी टोलीले छालासहित अभियुक्त कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरी कार्यालयका बाँकेका अनुसार बरामद भएको बाघको छाला ५ फिट ९ इन्च लामो र ३ फिट २ इन्च चौडा रहेको छ । अभियुक्तले सुर्खेतबाट बाघको छाला ल्याएर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको बाघको छाला र अभियुक्त कार्कीलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।