लेटाङमा महिला प्रहरीको हत्या गरेको अभियोगमा एक जना महिलासहित २० जनालाई पक्राउ

मोरङको लेटाङमा महिला प्रहरीको हत्या गरेको अभियोगमा एक जना महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ-५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी र १९ वर्षीय संजय मगर रहेका छन् । यस्तै लेटाङ-६ का १८ वर्षीय पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ पनि प्रहरीले सोही घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको हो ।


प्रहरीले मिक्लाजुङ-२ घर भइ लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ कै संजीव प्रधान, प्रनिस कट्टेल, जस्मिन पाख्रीन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले मोरङ अदालतमा पहिलो चरणमा पक्राउ परेका ९ जना र पछिल्लो चरणमा पक्राउ परेका ११ जनालाई नै ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको छ । चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्न २० जनालाई पक्राउ गरिएको मोरङका प्रहरीले जानकारी दिएका छन ।


हिंसात्मक झडपको घटनाको अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान सुरू भएको छ । घटना घटाएपछि आरोपी फरार भएका छन् । उनीहरू जंगलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ, केराबारी र मिक्लाजुङसँगै उत्तरी क्षेत्र सर्च अभियान पनि सुरू गरेको छ । घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ । समितिमा एस एसपीसहित एकजना डिएसपी, एक जना इन्स्पेक्टर र दुई जना असई रहेका छन् । छानविन समितिले अनुसन्धान पूरा गरेपछि प्रदेश प्रहरी कार्यलाई प्रतिवेदन बुझाउँछ ।


के भएको थियो घटना ?
एक हप्ता अगाडि लेटाङस्थित शिक्षा विकास माविका शिक्षक मनोज प्रसाद पौडेलले छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि लेटाङ बजार तनावग्रस्त भएको थियो । शिक्षकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै अभिभावक र विद्यार्थीले गत आइतबार (९ दिन अगाडि) प्रदर्शन चर्काएका थिए । विद्यालयको कोठामै थुनिएका शिक्षक पौडेलसहितको टोलीलाई प्रहरीले उद्धार गर्ने प्रयास गर्दा केही युवाले प्रहरी माथि नै आक्रमण सुरु गरेका थिए ।
सो आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
यस्तै सोही घटनामा परी २५ जना प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए । प्रहरी जवान श्रेष्ठको भीडको आक्रमणमा परी मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । सो घटनापछि प्रहरीले तीनदिनसम्म लेटाङ बजारमा कर्फ्यु लगाएको थियो । सोमबारदेखि लगाएको कर्फ्यु गत बिहीबार हटाइएको थियो ।