बलिउड स्टार सलमानको कार्यक्रम रद्द

ओडीसी इन्टरटेन्मेन्टले बलिउड स्टार सलमान खानलाई ल्याएर राजधानीको दशरथ रंगशालामा दबंग टुर रिलोडेड नामक कार्यक्रम आयोजना गर्ने नाममा करोडौंको टिकट बेचिसके पछि अन्तिम समयमा आएर कार्यक्रम रद्द गरेको छ ।

ओडीसी इन्टरटेन्मेन्टले हिता ग्रुपसँगको संयुक्त आयोजनामा सो कार्यक्रम गर्ने भन्दै महँगा दरका कराडौं रुपियाँको टिकट बिक्री गरिसके पछि आगामी जेठ १४ गतेका लागि तोकिएको कार्यक्रम रद्द गरको हो । आयोजकले सो कार्यक्रमका नाममा विभिन्न माध्यमबाट ५, १०, १५ र २५ हजार दरका हजारौं टिकट बिक्री गरिसकेको स्रोतले जानकारी जानकारी दिएको छ । ओडीसीले केही वर्षअघि पनि सलमान लाई ल्याएर सो कार्यक्रम आयोजना गर्ने नाममा करोडौंको टिकट बिक्री गरेको थियो । तर, अन्तिम समयमा आएर कार्यक्रम रद्द गरेको थियो । जसका कारण आयोजक सीमान्त गुरुङ टिकट ठगी काण्डमा परेका थिए ।

स्रोतका अनुसार सलमान खान र उनको टोलीको माग पुरा गर्न नसकेको कारण कार्यक्रम फेरि रद्द भएको हो । आयोजकले यसबारे औपचारिक जानकारी भने दिइसकेका छैनन् । उनको कार्यक्रमका लागि आयोजकले संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रभावित पारी उनलाई अभिनेता खानसँग भिडियो कलमा कुराकानी समेत गर्न लगाएका थिए । उनले सलमानका लागि सगरमाथामा ब्रेकफास्टको अफर समेत गरेका थिए ।

कार्यक्रमको तयारीका लागि सलमानका भाइ सोहेल खानले नेपाल आई मन्त्री आलेका साथ सलमानको सुरक्षाका लागि सयौं सुरक्षा कर्मीको माग गरेका थिए । यस अघि, सोही कार्यक्रमका लागि बलिउड नायिका ज्याकलिन फर्नान्डिजले समेत नेपाल आउने कार्यक्रम रद्द गरेकी थिइन् ।