कांग्रेसका वडा अध्यक्ष मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै

काठमाडौं
मेलम्ची नगरपालिका- १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागेका छन् ।

चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागि रहेको स्थानीयले बताएका छन् ।


उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका छन् । उनले पछि स्पष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् ।

उनले फेसबुक वालमा लेखेका थिए- यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल ! मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो । यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।

उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको त्यस ठाँउका स्थानीयले जनाएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति भएको जनाएको छ ।

मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।