राजनीतिलाई देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गरेका छन् । गृह जिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् ।

उहाँले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरेका छन् । राजनीतिलाई सत्ता चढ्ने भर्‍याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छ’, लिङ्देनले भनेका छन् ।

देशलाई भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प, दृढ इच्छाशक्ति आवश्यक रहेको बताउका छन् । ‘यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो सङ्कल्पले हटाउन सकिँदैन’, उनले भने, ‘तर भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो लाग्दैन ।

भ्रष्टाचार गर्नेलाई राप्रपामा कुनै स्थान नभएको धारणा दोहोर्‍याउँदै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने बताउनुभयो । ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौँ, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौँ’, उनले भने‘ राप्रपा मन, वचन र कर्मले सुशासन प्रति प्रतिबद्ध छ, राप्रपा र अरु दलको फरक यहि हो’, लिङ्देनले भने ।
स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको उहाँको भनाइ रहेको छ । ‘यो राप्रपाले चुनाव जितेको झापाको कचनकवलमा लागू भइसकेको व्यवस्था हो, राप्रपाको केन्द्रीय घोषणापत्र मै कचनकबलको अभ्यास प्रतिबिम्बित भइसकेको छ’, लिङ्देनले भने ।