प्रधानमन्त्री प्रचन्डलाई आन्दोलनरत शिक्षकको खुल्ला-पत्र

राज्यले एक शिक्षकको पेसागत सेवा, सुविधा र मर्यादालाई निचोरेर, हातखुट्टा बाँधेर, थाप्लोमा पेसागत अमर्यादित सङ्कोच बोकाएर न खान पुग्ने न मेटाउने पेटको भोकलाई अभावको पीडाले डिप्रेसन र एन्जाइटीको शिकार बनाएर मलाई कक्षाकोठामा नपठाइयोस् ।

प्रधानमन्त्री ज्यु नमस्कार ।
सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अनुसार म एक सामुदायिक विद्यालयको साधारण शिक्षक हुँ । म अध्यापनरत विद्यालयमा ग्रामीण क्षेत्रका हुँदाखाने परिवारका विद्यार्थीहरू मात्र पढिरहेका छन् । उनीहरूका अभिभावक खाडी मुलुकमा विदेशी पैसासँग नेपाली पसिना साँटिरहेका छन् । पश्चिम नेपालको नागरिक पूर्वी नेपालमा आएर शिक्षण गर्दैगर्दा आर्थिक संकट व्यवस्थापन गर्न नसकिने निष्कर्षमा पुगेको म लगायत विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा दर्ता भएपछि देशको शैक्षिक परिस्थिति देखेर एकाएक लाखौंलाख शिक्षकको मनमा राष्ट्रप्रति उदासीन र क्रूद्ध भावहरू उद्वेलित भएका छन् ।

सुनेको छु । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल सरकारका वरिष्ठतम् सचिव, विषय विज्ञको उपस्थिति रहन्छ रे ? वि.सं. २०२८ सालमा राजा महेन्द्रले शिक्षा ऐन २०२८ जारी गर्दा सडकमा देखिएको दिप प्रज्वलन र विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा पेश मात्रै हुँदा सडकमा देखिएको बन्द हडतालको कालो झण्डाले के संकेत गर्दछ ? समयगत विकासीय अवस्था, मानसिकता र आवश्यकतालाई तुलनात्मक विश्लेषण गर्ने ती विज्ञको विज्ञता र हैसियत पुग्छ कि पुग्दैन ?

हेक्का रहोस् ! तपाईंको विगत पनि शिक्षण पेसा नै थियोे । हिजो राजालाई क्रूर शासकको संज्ञा दिदै राजतन्त्रप्रति क्रुद्ध भइ शिक्षक विद्यार्थी उचालेर जनयुद्धको रक्ताम्य खोलाको जगमा जन्मेका सयौं माफिया महाराजाधिराज पालनपोषण गर्नसक्ने राज्यले एक शिक्षकको पेसागत सेवा, सुविधा र मर्यादालाई निचोरेर, हातखुट्टा बाँधेर, थाप्लोमा पेसागत अमर्यादित सङ्कोच बोकाएर न खान पुग्ने न मेटाउने पेटको भोकलाई अभावको पीडाले डिप्रेसन र एन्जाइटीको शिकार बनाएर मलाई कक्षाकोठामा नपठाइयोस् ।

यसरी म थिचोरिदा, निचोरिदा शान्त सौहार्द कक्षाकोठाका प्रत्येक भित्ता – भित्तामा समेत आन्दोलन शब्द मात्रै देखिरहेको छु । पाठ्यपुस्तकका प्रत्येक पाना-पानामा शिक्षा शब्द जलिरहेको आभास भइरहेको छ । एक हातमा शैक्षिक आन्दोलनका काला झण्डाहरू र अर्को हातमा आगोका लप्काहरू समाएको विद्रोही चेत बोकेका अक्षरहरूको दृश्य आँखामा मञ्चित भइरहेको छ । अब शिक्षण गराइनेछ आन्दोलनको इतिहास, उपलब्धि र त्यसको रक्षा प्रतिरक्षाको र लेख्न लगाइने छ गृहकार्यका रूपमा शैक्षिक अवस्था र व्यवस्था बदल्न हामीले के कस्ता आन्दोलन गर्न सक्छौ चरणगत बुँदाहरू लेख्नुहोस् । प्रयोगशाला बन्नेछन् कक्षाकोठाहरू र उत्पादित हुनेछन् हतियारधारी राता आन्दोलनकारीहरू । विकल्प खोज्दा व्यवस्था र अवस्था परिवर्तनको चल्नेछ भागदौड भ्रष्ट माफिया दुष्ट अपराधीको ।

एउटा पूर्व शिक्षकको हैसियतले शिक्षकको गरिमा सम्झिनुहोस् । आफूलाई राष्ट्रनायक, युगपुरूष भन्न रूचाउनेले युग सुहाउँदो शिक्षालाई उच्च सम्मानित र मर्यादित पेसाको रूपमा सूसुचित गर्नुहोस् । शिक्षक अमृत बनी प्रत्येकको मन मस्तिष्कमा बसेर मोक्ष प्राप्ति गर्न सघाउन सक्छ, भने विद्रोही चेत बोकेको अग्नि झिल्को बनेर शैक्षिक माफियाहरूलाई नष्ट गर्न पनि सक्छ । अन्यथा शिक्षकको मानमर्दनमा आँच आउने गरि नजिस्काउनु हुन विनम्र अनुरोध गर्दछु ।

शिक्षक 
पदम शाही
पचालझरना - ८ भिट्टा कालिकोट 
गंगोदय माध्यमिक विद्यालय 
रावावेसी - ५  दुबेकोल खोटाङ